काठमाडौं -जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले सवारीसाधनमा जथाभावी जडान गरिएका अवैध तथा अतिरिक्त सिट हटाउने अभियान तीव्र पारेको छ। कार्यालयले सार्वजनिक सवारीसाधनलाई लक्षित गरी सञ्चालन गरेको पाँच दिने विशेष अभियानमा ४६७ वटा अतिरिक्त सिट हटाइएको जनाएको छ।

ट्राफिक प्रहरीले यात्रुको सुरक्षा, सवारीको भार सन्तुलन र दुर्घटना न्यूनीकरणका लागि अभियान सञ्चालन गरिएको बताएको छ। नियमविपरीत थपिएका सिटका कारण सवारी असन्तुलित भई दुर्घटनाको जोखिम बढ्ने, यात्रु असुरक्षित हुने र सडक अनुशासन कमजोर हुने भएकाले कडाइ गरिएको ट्राफिक प्रहरीको भनाइ छ।

अभियानका क्रममा सवारी धनी तथा चालकलाई ट्राफिक नियमबारे सचेत गराउँदै भविष्यमा नियम उल्लङ्घन नगर्न चेतावनीसमेत दिइएको छ। ट्राफिक प्रहरीले अतिरिक्त सिट राख्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने र सवारीको बनावट परिवर्तन गर्ने कार्य कानुनविपरीत रहेको स्पष्ट पारेको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले यस्तो अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ। यात्रुको जीवन सुरक्षा र सुरक्षित यातायात व्यवस्थापनका लागि सबै सरोकारवाला पक्षलाई नियम पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *